Logo

October 26, 2026

October 26, 2026 | २०८३-०७-०९

सर्वोदय चौतारीमा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन

सर्वोदय चौतारीमा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन

सर्वोदय शिक्षा खबर
असोज १२, २०८३

दमक । दमक–५ स्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रम सम्पन्न भएको छ। सर्वोदय बाल क्लबको आयोजनामा सञ्चालन भएको ‘सर्वोदय चौतारी’ अन्तर्गतको कार्यक्रममा कक्षा ९ र १० का करिब १५० विद्यार्थी सहभागी थिए।

कार्यक्रममा कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र बैंकका ब्रान्डिङ, सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै जीवन उपयोगी सीप, वित्तीय साक्षरता, करिअर योजना तथा भविष्य निर्माणका विषयमा मार्गदर्शन दिएका थिए।

खिमलाल भुसालले विद्यार्थीलाई आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौतीको सामना गर्ने उपायबारे जानकारी गराउँदै शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीपको विकासमा जोड दिए।

त्यस्तै, सुशील पौडेलले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य निर्धारण गर्न तथा त्यसलाई योजनाबद्ध रूपमा अघि बढाउन सुझाव दिए। कार्यक्रममा बचत, लगानी, आवश्यकता र चाहनाबीचको भिन्नता, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारलगायतका विषयमा पनि छलफल गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करिअरसम्बन्धी सोच वक्ताहरूसँग साझा गरेका थिए। विद्यार्थीलाई व्यवहारिक ज्ञान र प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अनुभवी व्यक्तिबाट प्राप्त मार्गदर्शनलाई व्यवहारमा उतार्दै निरन्तर सिकाइ र आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिइएको थियो।

सर्वोदय बाल क्लबले विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले ‘सर्वोदय चौतारी’ अन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका प्रेरक व्यक्तित्वसँग विद्यार्थीको अन्तरक्रिया गराउँदै आएको छ।

कार्यक्रमको सञ्चालन सर्वोदय बाल क्लबका रोहन ताजपुरियाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस